एभरेष्टमा सोहमको हेकरास तालिम प्रारम्भ

March 17, 2025
एभरेष्टमा सोहमको हेकरास तालिम प्रारम्भ

एभरेष्टमा सोहमको हेकरास तालिम प्रारम्भ

नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत एभरेष्ट इन्जिनियरिङ कलेजमा आज देखि दुई दिने  हेकरास तालिम प्रारम्भ भएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ। नेपाल सरकार, जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका विभिन्न सरकारी तथा गै.स.स.हरूले यी कार्यक्रमहरू गर्ने गर्दछ। सप्ताहको पहिलो दिन जल तथा मौसमविद् समाज-नेपाल (सोहम)ले एभरेष्ट इन्जिनियरिङ कलेज, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि), द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा बाढी भविष्यवाणी गर्न र जल उत्पन्न विपद्हरूबाट समुदायलाई जोगाउन काम लाग्ने हेकरास सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको हो। तालिम कार्यक्रममा सरकारी, गै.स.स., निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी अट्ठाइस जना प्रशिक्षार्थीहरू छन्। एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य विरोध रिजाल तथा सहायक प्राचार्य राजन लामाको उपस्थितिमा कार्यक्रम प्रारम्भ गरिएको थियो । जल तथा मौसमविद् समाज-नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले हेकरास विश्वभरी नै प्रयोग हुने सफ्टवेयर भएकोले तालिमबाट प्राप्त ज्ञान तथा सीपको प्रयोगबाट नेपालका नदीनालाहरू सम्बन्धी अनुसन्धान गर्न र विश्वका कुनै पनि देशमा सेवा प्रदान गर्ने सक्षम हुने जानकारी दिए। प्रशिक्षार्थीहरूले आफुले आर्जन गरेको सीप प्रयोग गरी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति दिए। कार्यक्रमका मूल स्रोत व्यक्ति इन्जिनियर विनय शाक्यले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए।

Back to All Blogs